इलाम नगरपालिका सिल गर्ने तयारी



इलाम– स्थानीय प्रशासनले इलाम सदरमुकाम सिल गर्ने तयारी गरेको छ । इलाम नगरपालिका क्षेत्रमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको जनाउँदै सिल गर्ने तयारी भएको हो । यसका लागि इलाम नगरपालिकाले जिल्ला प्रशासन कार्यालयसँग अनुमति मागेको छ ।

इलाम नगरपालिका नगरकार्यपालिकाको आजको बैठकले नगर क्षेत्र सिल गर्नका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमति माग गरेको इलाम नगरपालिकाका प्रवक्ता ठाकुर नारायण श्रेष्ठले जानकारी दिनुभयो । नगर क्षेत्रमा दैनिक संक्रमण बढ्दै गएकाले एक साताका लागि सिल गर्ने तयारी भएको हो ।

अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने र वडा कार्यालय समेत बन्द गर्ने निर्णयसहित प्रशासन कार्यालयलाई सिफारिस गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । समुदाय तहमा कोराेना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै जाँदा इलाममा पनि जोखिम बढ्दै आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोना भाइरसको दोस्रो लहरको संक्रमण सुरु भएयता इलाम नगरपालिका क्षेत्रमा मात्रै ९१६ जना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये १६ जनाको मृत्यु भइसकेको छ ।