‘नगर गौरवका खेलाडी’ घोषणा गर्ने मेचीनगरको तयारी



मेचीनगर (विवेचना)– मेचीनगर नगरपालिकाले ‘नगर गौरवका खेलाडी’ घोषणा गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि खेलाडीलाई प्रोत्साहन गर्ने नीति अनुरुप नगरपालिकाले यस्तो अवधारणा अघि सारेको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा कमाएका नगरभित्रका खेलाडीलाई गौरवका रुपमा राखिने नगर प्रमुख विमल आचार्यले बताए ।

नगरपालिकाले सामाजिक विकास सम्बन्धी नीतिमा खेलाडीलाई प्राथमिकतामा राख्दै सम्मान तथा प्रोत्साहनको व्यवस्था गरेको हो । मेचीनगरले फुटबल, भलिबल, क्रिकेट, बुद्घिचाल व्याडमिन्टन, मार्शल आर्टमा थुप्रै खेल प्रतिभा जन्माएको छ ।

खेलको विकास र प्रवद्र्घनका लागि नगरस्तरीय टिम निर्माण गर्न विभिन्न समयमा प्रतियोगिता सञ्चालन गर्ने नीति समेत नगरपालिकाले लिएको छ । उपयुक्त जग्गामा नगरस्तरीय खेल मैदान, पार्क, खुला क्षेत्रको विकास गर्ने नीति नगरपालिकाकोे छ ।

मेचीनगर गोल्डकप र मेचीनगर रोलिङ्ग क्लब ए डिभिजन प्रतियोगिता सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने समेत नीति नगरपालिकाले लिएको छ ।