
भद्रपुर–झापाको मेचीनगर–१४ दुहागढीमा जुनसुकै समयमा पनि ३०० हेक्टर जमिन सिँचित हुने गरी निर्माण गरिएको हँडिया रेगुलेटर कुलो मर्मत तथा सरसफाइ गरिएको छ । एसियाली विकास बैंकको सहयोगमा ५ करोड लगानीमा दुई वर्षअघि निर्माण गरिएको ७ किलोमिटर लामो नहरको मुहानको हेडबक्स, नहर, शाखा नहर र फुट ब्रिज मर्मत गरिएको हो ।
एक दशकअघि हँडिया रेगुलेटर सिँचाइ जल उपभोक्ता संस्था गठन गरी सोही संस्थामार्फत नहरका लागि पहल गरिएको थियो । प्रदेश १ सरकारबाट यसै आर्थिक वर्षका लागि प्राप्त ४० लाख रुपैयाँ लागतमा नहरका विभिन्न पक्षको मर्मत गरिएको संस्थाका अध्यक्ष शंकर पोखरेलले जानकारी दिनुभयो ।
७ सयजति सर्वसाधारण किसान परिवारलाई प्रत्यक्ष लाभ पुर्याइरहेको नहरको सरसफाइ पनि गरिएको छ । सबै उपभोक्ता मिलेर स्वतःस्फूर्त रुपमा सरसफाइ गरिएको हो । ‘हँडिया रेगुलेटर सिँचाइ आयोजनाको मुहान सरसफाइ शिविर’ नै आयोजना गरेर नहर र नहर वरिपरि सरसफाइ गरिएको संस्थाका सचिव अनिल ढुंगानाले बताउनु भयो ।
वर्षातको समय भएकोले नहरमा लेदो जम्ने, नहर वरिपरि अनावश्यक झाडी हुने भएकोले सबै उभोक्तालाई सहभागी गराइ सरसफाइ गरिएको ढुंगानाले बताउनु भयो । नहरको सरसफाइ वर्षेनि गरिएको छ । यसअघि सिँचाइका लागि आकाशे पानीको भर पर्नुपर्ने दुहागढीका किसानका लागि हँडिया रेगुलेटर सिँचाइ आयोजना वरदान सावित भएको छ ।
हिउँदमा पानी नहुँदा जमिन बाँझै छोड्नुपर्ने, वर्षातको समयमा पनि कहिलेकाहीँ खडेरी लागेर बालीनालीमा नोक्सानी व्यहोर्नुपर्ने नियतिबाट त्यस क्षेत्रका किसानले मुक्ति पाएका छन् ।संस्थाअन्तर्गत ६ वटा कृषि तथा सिँचाइ समूह रहेका छन् भने तिनै समूहले पालो मिलाएर सिँचाइको व्यवस्था मिलाएका छन् ।
एउटा समूहमा ३० भन्दा बढी उपभोक्ता सामेल छन् । आयोजनामा आबद्ध किसानलाई मेचीनगरको कृषि शाखामार्फत व्यावसायिक खेतीसम्बन्धी तालिम पनि प्रदान गरिएको सचिव ढुंगानाले जानकारी दिनुभयो ।