
विराटनगर– मोरङको धनपालथान गाउँपालिका–४ की ३५ वर्षीया जानकीदेवी मुखियाको शव घरनजिक पानी जमेको खेतमा भेटिएको छ। मुखबाट फिँज र नाकाबाट रगत बगिरहेको तथा आँखाको डिलमा सामान्य चोट रहेको अवस्थामा आइतबार राति १० बजेतिर शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार घटनास्थल र मृतकको घर लगभग ५० मिटरको दूरीमा छ। देवर र आफ्नै छोरीले जानकीदेवीलाई मृत फेला पारेपछि राति ११.४५ बजेतिर प्रहरीलाई खबर गरेको श्रेष्ठले बताए।‘खेतमा मृत फेला पारेपछि उठाएर शव घरमा ल्याएछन्’, उनले भने, ‘घटना शंकास्पद मानेर परिवारका सदस्यले प्रहरीलाई खबर गरेका हुन्।’
उनका अनुसार धान रोपेको र घुँडासम्म डुब्ने पानी जमेको खेतमा घोप्टो परेको अवस्थामा महिलाको शव फेला परेको हो।