अमेरिकामा भव्य रुपमा ऐतिहासिक चैते दशै मेला सम्पन्न, भलिवल खेलमा म्याग्दी समाज अमेरिका विजेता ठेलो फाल्ने प्रतियोगितामा विकाश जि.सी. ले प्रथम स्थान हासिल गरेका थिए



पहिलोपटक अमेरिकामा बाग्लुङ समाज अमेरिका मेरिल्याण्डको आयोजनामा “चैते दशै मेला २०७९ तथा नेपाली नयाँ बर्ष २०७९ को शुभकामना आदानप्रदान कार्यक्रम” सयौ व्यक्तीहरुको उपस्थितीमा भव्यता साथ सम्पन्न भएको छ । यही अप्रिल १७ तारिकका दिन बाल्टिमोर मेरिल्याण्डको एउटा विशाल पार्कमा सम्पन्न भएको उक्त मेला/कार्यक्रममा करिव एक हज़ार जनाको उपस्थिती रहेको अनुमान गरिएको छ ।

खासगरि बाग्लुङको ऐतिहासिक पर्वको रुपमा हरेक बर्ष चैत्रअष्टमीमा कालिका भगवती मन्दिरमा मनाईने चर्चित पर्व “ चैते दशै मेला” को झल्को विदेशमा समेत स्मरण गर्दै मनाउने अभिप्रायले यसै बर्ष देखि शुरुवात गरिएको कार्यक्रममा उल्लेखनीय रुपमा धैरै सर्वसाधरण देखि विभिन्न स्थानीय संघसंस्थामा कृयाशिल व्यक्तित्वहरुको बाख्लो उपस्थितीमा पञ्चेबाजा, लोकसंस्कृतिक गानाबजाना, नृत्य, खेलकूद कार्यक्रम, राफल चिट्टा कार्यक्रमका साथमा विभिन्न परिकार सहितको बनभोज कार्यक्रमको आकर्षणले उपस्थिती सबैमा मनोरंजन दिईरहेको थियो ।

 

यस कार्यक्रमको औपचारिक रुपमा उद्घाटन अमेरिकाको लागी नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतले प्रमुख अतिथीको रुपमा विशेषरुपमा सजाएर राखिएको बाग्लुङ भगवतीको मन्दिरको अंकित ब्यानरमा देवी भगवतीको तस्वीरलाई वैधिकरुपमा पुजा आराधना गरेर सजाईएको पानसमा दिप प्रज्वलन गरेर गर्नु भएको थियो भने साथमा पञ्चेबाजाको मंगलधुन बजाईएको थियो । उक्त छोटो औपचारिक कार्यक्रममा विभिन्न स्थानीय संघसंस्थाहरुका प्रमुख एवं प्रतिनिधीहरु अथितीको रुपमा सहभागी भएका थिए भने उक्त कार्यक्रमको स्वागत मन्तव्य यस संस्थाका सल्लाहकार टंक कुँवरले दिनु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका महासचिव नीर थापाले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी महावाणिज्यदूत प्रेमराजा महतले कार्यक्रम आयोजक प्रति आभार प्रकट गर्दै छोटो शुभकामना मन्तव्य दिनु भएको थियो भने उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष विपिन श्रेष्ठले गर्नु भएको थियो ।

 

बालबालिका देखि युवा, वृद्ध आमाबुवाहरु उपस्थित रहेको सो मेलाको मुख्य आकर्षक खेल भलिवल खेल प्रतियोगितामा ६ वटा टिमले भाग लिएका थिए भने ठेलो फाल्ने प्रतियोगितामा लागी ३२ जना सहभागी भएका थिए । भलिवल खेलमा अन्तिम फाईनलमा पुग्न सफल बाग्लुङ समाज अमेरिका उपविजेता र म्याग्दी समाज अमेरिका विजेता घोषित भएका थिए भने ठेलो फाल्ने प्रतियोगितामा विकाश जि.सी. ले प्रथम स्थान हासिल गरेका थिए । सहभागीहरुको विचमा खोलिएको राफल चिट्टामा प्रथम पुरस्कार नगद $१२००,दोस्रो पुरस्कार नगद $५०० र तेस्रो पुरस्कार नगद $१५० गोलप्रथा मार्फत नतिजा निकाली प्रदान गरिएको थियो ।

उक्त मेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा डिजे दिनेश गुरुङको महत्वपुर्ण भुमिका रहेको थियो भने नाम्लो ईभेन्टका दिलीप श्रेष्ठले फोटोग्राफरको ज़िम्मेवारी बहन गर्नु भएको थियो । साथै ईनेप्लीज डटकमका विजय थापाले कार्यक्रमको लाईभ गर्नु भएको थियो भने स्थानीय अन्य पत्रकारहरुले समेत लाईभ गर्ने, सामाजिक संजालमा समाचार संप्रेषण गर्ने काम गर्नु भएको थियो । त्यस्तै नेपाल खबर डटकमले प्रचार सामाग्री तयार पारेर सहयोग गरेको थियो । मेलाको आकर्षक पञ्चेबाजाको टिमको नेतृत्व गायक एवं वाद्यवादक अमृत रामदासले गर्नु भएको थियो भने साथमा स्वयंसेवकहरुले स्वत स्फुर्तरुपमा बाजा बजाउन साथ दिनु भएको थियो भने उपस्थित महिला, पुरुष, युवा, बालबालिकाहरुले नाँच नाँचेर मनोरम माहोल बनाएका थिए ।

 

त्यस्तैगरि गायक एवं संगीतकार राजन ठकुरीको अगुवाईमा विभिन्न सांगेतिक गित प्रस्तुत गरिएको थियो भने लोकप्रिय गित “ सालेजो” दोहोरी गित समेत प्रस्तुत गरिएको थियो । यसलाई वरिष्ठ लोकदोहोरी गायिका सृजना विरही थापा तथा लोकदोहोरी गायिका सुमित्राले साथ दिनु भएको थियो । साथै गायक/ वाद्यवादकहरु अमृत ढुंगेल, अमृत रामदास, वाद्यवादकहरु खिम बहादुर मस्राङ्गी, सुन्दर हमालले समेत साथ दिनु भएको थियो ।

यस कार्यक्रम सफल बनाउन विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग प्रदान गर्नु भएको थियो भने पर्वत समाज अमेरिका, म्याग्दी समाज अमेरिका एवं बानाले विशेष सहयोग प्रदान गरेको थियो । साथै विभिन्न कामको जिम्मेवारी पाएका समितीका व्यक्तीहरुले आ-आफ्नो जिम्मेवारी बहन गर्नु भएको थियो । भान्सा सम्बन्धी काम, अर्थसंकलन एवं आर्थिक काम, प्रचारप्रसार लगायत स्वयंसेवक परिचालनको ज़िम्मेवारी पाएका सबै व्यक्तिहरुले कुशलतापुर्वक काम गरेका थिए । खासगरि विहान देखि बेलुका सम्म खानपानको निरन्तर व्यवस्था स्पोर्टमै ताजा खाना तयार पार्ने भान्साको जिम्मा लिने व्यक्तीहरुको निरन्तर खटनलाई सबै उपस्थित व्यक्तीहरुले निकै प्रसंशा गरेको पाईयो ।

समग्रमा यो कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न भएको र आगामी दिनमा अझै व्यवस्थित रुपमा मौलिकता झल्कने किसिमबाट हरेक बर्ष यसै समयमै संचालन गर्दै लैजाने आयोजकले बताएको छ । यस्ता कार्यक्रमको आयोजनाले खासगरि दोस्रो पुस्तामा नेपाली चाडपर्व, संस्कृति, संस्कार, परम्परा, रितिरिवाज बारे जानकारी हुने र उनीहरुको पुस्ताले पनि यसलाई निरन्तरता दिने जसको फलस्वरूप नेपाली पहिचान विदेशमा समेत क़ायम गर्न सकिने देखिन्छ भने आपसमा भाईचारा क़ायम गरि नेपाली समुदायको विकास र विस्तारमा थप योगदान पुग्ने देखिन्छ ।

स्मरण रहोस्, उक्त कार्यक्रममा मेरिल्याण्ड राज्य बाहेक अन्य छिमेकी राज्य र न्युयोर्क, न्युजर्सी, वासिंगटन लगायतका विभिन्न राज्यबाट समेत उपस्थिती रहेको थियो । अन्तमा यस कार्यक्रममा आ-आफ्नो ठाउँबाट योगदान पुराउने सम्पुर्ण महानुभावहरु, संघसंस्थाहरु, आर्थिक सहयोग गर्ने दाताहरु, प्रायोजकहरु, उपस्थित आमव्यक्तीहर, अतिथीहरु, स्वयंसेवक हरु प्रति आयोजक बाग्लुङ समाज अमेरिका मेरिल्याण्डले हार्दिक आभार प्रकट गरेको छ र आगामी दिनमा समेत सबैको सहयोग एवं साथ रहने अपेक्षा गरेको छ ।