एक साताका लागि नगरक्षेत्रका बैंक तथा वित्तीय संस्था बन्द गर्न निर्देशन



झापा – बिर्तामोड नगरपालिकाले एक साताका लागि नगर क्षेत्रका बैंक तथा वित्तीय संस्था बन्द गर्न निर्देशन दिएको छ । नगर क्षेत्र सिल गर्ने निर्णय गर्दै नगरपालिकाले बैंक तथा वित्तीय संस्थाको काम रोक्न निर्देशन जारी गरेको हो । समुदाय तहमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि नगरपालिका लक डाउन गर्ने निर्णयमा पुगेको हो ।

आइतबार बसेको कोरोना संक्रमण तथा राहत व्यवस्थापन समन्वय समितिको बैठकले साउन १३ गते मध्यरातदेखि २० गते मध्यरातसम्म बिर्तामोड सिल गर्ने निर्णय गरेको थियो । नगरपालिकाले वडा कार्यालयमार्फत हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने पनि निर्णय गरेको छ ।

लक डाउन अवधिभर नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सबै सरकारी संस्थानहरु पनि बन्द गर्न निर्देशन दिइएको छ । बजार तथा कार्यालयमा हुने भीडले बिर्तामोडमा संक्रमण बढेको निष्कर्षसहित लक डाउन गरिएको नगरपालिकाले जनाएको छ ।