साहित्यकार तेजराज खतिवडा गम्भीर बिरामी, भेन्टिलेटरमा राखेर उपचार हुँदै



विर्तामोड (विवेचना)- साहित्यकार तेजराज खतिवडा गम्भीर बिरामी परेका छन् । झापाको धुलाबारी घर भएका खतिवडाको विराटनगरस्थित विराट नर्सिङ होममा एकसातादेखि उपचार भइरहेको छ ।

अस्वस्थ भएपछि सुरुमा साहित्यकार खतिवडालाई उपचारका लागि दमकस्थित आम्दा अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका क्रममा उनलाई विराटनगर पुर्याइएको हो ।

स्वासप्रस्वासमा धेरै कठिनाइ भएपछि अहिले साँझदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छोरा लेखनाथ खतिवडाले जानकारी दिए । यसअघि हाइफ्लाे अक्सिजनमा राखेर उनको उपचार भइरहेको थियो ।

साहित्यकार खतिवडा अस्वस्थ भएपछि उनका शुभचिन्तकहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सामाजिक कार्यमा निरन्तर सक्रिय रहन रुचाउने साहित्यकार खतिवडाले आफू अस्वस्थ हुँदाहुँदै पनि १५ दिनअघि धुलाबारीस्थित मेची अस्पतालको पूर्वाधार विकासका लागि २५ हजार रुपैया सहयोग गरेका थिए ।