क्षितिजबाट उदाएकी बिर्तामोडकी सविता



नाच्ने रहर थियो । तर जानेको थिएन । तिहारको एउटा कार्यक्रममा नाच्छु भनेर स्टेजमा आइन् । नाचिन पनि । तर, सहभागी सबै हाँसे । रातोपिरो हुँदै स्टेजबाट उत्रिन् । मनमा रिस थियो । आफैँ सम्झिइन्, ‘मैले नाच्न जानेको भए उनीहरु हाँस्ने थिएनन् ।’ केटाकेटी मान्छे, मनमा इख पलायो । उनले अर्काे तिहार आउँदा जसरी पनि नाचेर देखाउने अठोट लिइन् । उनी अर्थात झापा बुट्टावारीकी सविता रेग्मी

नाच्न सिक्नु उनका लागि सबैभन्दा ठूलो जीत थियो । खाना पकाउँदै गर्दा पनि उनी नाचिन् । अरुले नाचेको हेरिन् । अलि अलि जानेपछि उनमा हिम्मत बढ्दै गयो । उनको ठूलो ममीका छोरा खिलबहादुर खड्का चारआली सैनिक व्यारेकमा कार्यरत थिए । उनले पनि सवितालाई नाच्न हौँस्याए । उनको सहयोगमा व्यारेकभित्रका कार्यक्रममा पनि उनी नाचिन् । त्यही कार्यक्रममा सविताले नृत्य प्रशिक्षक सुवास लिम्वू र बालकुमार कटुवाललाई भेटिन् ।

१४÷१५ वर्षकी फुच्ची सविता । उनलाई त्यति बेला मात्रै थाहा भयो, ‘नाच्न पनि सिक्नु पर्ने रहेछ । तालिम लिएपछि मात्रै नाच्न जानिने रहेछ ।’ नाच्ने रहरले उनलाई चारआली डान्स सेन्टरसम्म पुर्यायो । उनले त्यही नाच्न सिकिन् । अर्काे तिहार आउँदासम्म सविता ‘पर्फेक्ट’ भइसकेकी थिइन् । तिहारमा उनको नाच सबैभन्दा उत्कृष्ट भयो । साथीसङ्गीले झन् हौँस्याए । खुत्रुक खुत्रुक उफ्रिँदा मात्रै डान्स नहुने रहेछ भनेर थाहा भयो ।

सरगम सङ्गीतालय बिर्तामोडमा उनले तीन महिना डान्स क्लास लिइन् । एसएससी सकेपछि घरैमा उनले डान्स सेन्टर खोलिन् । आफू पनि सिकिन्, अरुलाई पनि सिकाइन् । बिहान दुई वटा डान्स क्लास सकेर उनी बिर्तामोड आउँथिन् । ओभरसिजमा उनको जागिर थियो । बेलुका फर्केर घर गएपछि पनि दुईवटा क्लास हुन्थ्यो । उनको रुचि नृत्यमा भए पनि पेशा बनाउँछु भन्ने थिएन । पढाईमा ट्यालेन्ट नभए पनि सविता कहिल्यै फेल भइनन् । उनी शिक्षिका बन्न चाहन्थिन् ।

‘मिसहरु चिटिक्क परेर सारी लगाएर आएको देख्दा म पनि यस्तै बन्छु भन्ने थियो’, सविताले भनिन्, ‘तर, समयले मेरो लक्ष्यलाई धेरैपर धकेलिदियो ।’ नृत्यमा भविष्य खोज्दै गरेकी सविताले म्युजिक भिडियोमा पनि अभिनय गर्ने अवसर पाइन् । बिर्तामोडको सरगम सङ्गीतालयका प्रोपाइटर दीपक रायमाझीले उनलाई यो अवसर दिए । लोक गायक डिवी गुरुङको ‘सानु रेलैमा’ भन्ने म्युजिक भिडियो जुन इलाममा छायाङ्कन भएको थियो, त्यसले राम्रै चर्चा पायो ।

सङ्गीतालयले लीलाबहादुर क्षेत्रीको उपन्यास ‘बसाईँ’ मञ्चन गर्ने भयो । नाटकका लागि मुख्य भूमिकामा धने नामको पात्र त भेटियो, तर मैनाको अभिनय गर्न सक्ने कोही थिएन । सङ्गीतालयले अडिसन लियो । सविताकै साथी मैनाको भूमिकाका लागि छानिइन् । उनलाई आफू छानिन्छु कि भन्ने आशा थियो । उनको आशा त्यो बेला सफल भयो, जुन बेला उनकी साथी घरायसी समस्याका कारण समय दिन नसक्ने अवस्थामा पुगिन् ।

एक साताको तयारीपछि सविता मैनाको भूमिकामा अभिनय गर्न सक्ने भइन् । त्यसका लागि गर्नु परेको मेहनत उनले अझै बिर्सिएकी छैनन् । दिनमा दुई ‘सो’ मञ्चन भयो बसाईँ । दुई दिनसम्म नाटक हेर्नेको घुइँचो थियो । ‘मैनाको भूमिकामा नसोचेको सफलता प्राप्त भयो’, सविताले भनिन्, ‘त्यही अभिनयले मलाई क्षितिज नाट्य समूहसम्म पुर्याएको हो ।’

नाटक हेर्ने मध्येका एक दर्शक थिए, क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पित । युवा रङ्गकर्मी कल्पित आफैँ नाटक लेख्थे । आफैँ अभिनय गर्थे । बसाईँमा अभिनय मन परेपछि उनले सवितालाई घरैमा बोलाए । क्षितिजको सदस्य बन्न अनुरोध गरे । त्यही अनुरोधमा सदस्य भएकी सविता कल्पितकी छोरी बन्न पुगिन् । अर्थात मीत साइनो जोडियो ।

आफ्नै अठोट र संकल्पले सवितालाई राष्ट्रिय कलाकारका रुपमा स्थापित गर्दै लगेको छ । दृढ इच्छाशक्ति र आत्मविश्वासकी धनी सविता झापाको क्षितिज नाट्य समूहबाट उदाएकी कलाकार हुन् । क्षितिज त्यस्तो संस्था हो, जसले सविता जस्ता कलाकार जन्माउन ठूलो मेहनत गरेको छ । रङ्गमञ्चको दुनियाँमा क्षितिजका कलाकार आफ्नै कला देखाइरहेका छन् ।

क्षितिजको यात्रा र अभियान त्यतिमा मात्रै सीमित छैन । बहुजातिय सङ्ग्रहालय सहितको ‘झापा नाटक घर’ को निर्माण उसको पहिलो लक्ष्य हो । अभियानको नेतृत्व गरिरहेका युवा रङ्गकर्मी माधव कल्पित तन, मन र धन खर्चिएर झापा नाटक घर निर्माणमा दिनरात खटिरहेका छन् । नाटक घर निर्माणको अभियानमा जोडिएर सविताले आफूलाई राष्ट्रियस्तरमा ‘झापा नाटक घरकी कलाकार’ को रुपमा स्थापित गराउँदै लगेकी छन् ।

म्युजिक भिडियो, फिल्म र स्टेजमा व्यस्त सविताले पाँच÷छ वटा देशमा आफ्नो प्रस्तुति देखाइसकेकी छन् । नेपाल चलचित्र कलाकार सङ्घकी सदस्य सविता क्षितिज नाट्य समूहमा नृत्य विभाग प्रमुख हुन् । ‘आइटम गर्ल’ का रुपमा पनि उनको छुट्टै पहिचान छ । क्षितिज नाट्य समूहले बिर्तामोडमा मञ्चन गरेको नाटक ‘बर्बरिक’ मा उनले गरेको जीवन्त अभिनय सम्झन लायक छ ।

एमाले नेता मदन भण्डारीको राजनीतिक जीवन र दासढुङ्गाको घटनामा आधारित नाटक हो ‘बर्बरिक’ । नाटकमा विद्या भण्डारीको भूमिकामा देखिएकी पात्र हुन् सविता । ‘बर्बरिकमा धेरैले मेरो अभिनय मन पराए’, कफी गफमा सविताले भनिन्, ‘दर्शकको हौसलाले मेरो खुशीको सीमा रहेन् ।’

कुशल नृत्य क्षमताकी सविता नेपाली चलचित्र उद्योगमा पनि प्रवेश गरिसकेकी छन् । उनले अभिनय गरेका चलचित्र प्रदर्शनमा आउने तयारीमा छन् । कोरोना संकटका कारण चलचित्र आउन ढिलाई भएको हो ।