बिर्तामोड– सञ्चारमाध्यममा प्रकाशित समाचारको विषयलाई लिएर झापाको बनियानीस्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु बुढाथोकीले पत्रकार पार्थ मण्डललाई स्पष्टीकरण सोधेकोप्रति नेपाल पत्रकार महासंघ झापाले आपत्ति प्रकट गरेको छ ।
विद्यालयले कानुनविपरीत टेन्डर आव्हान गरेको विषयमा पत्रकार मण्डलले आफू कार्यरत विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन गरेका थिए । समाचारको बिषयलाई लिएर प्रधानाध्यापक बुढाथोकीले विद्यालयमा आएर स्पष्टिकरण दिनु भन्दै काटेको पत्र सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो ।
प्रधानाध्यापकको कार्यशैलीप्रति गम्भीर असहमति व्यक्त गर्दै पत्रकार महासंघ झापाले त्यसलाई आपत्तिजनक र प्रेस स्वतन्त्रताविरोधी काम भएको जनाएको छ । महासङ्घका सचिव डिकेश लामाले प्रेस स्वतन्त्रताविरोधी उक्त कार्य तत्काल सच्याउन र यस्ता गतिविधि नदोहोर्याउन सम्बन्धित प्रधानाध्यापकलाई सचेत गराएका छन् ।
महासंघले स्पष्टीकरणका नाममा पत्रकारलाई धम्क्याउने, हतोत्साहित र त्रसिद बनाउनेजस्ता प्रेस स्वतन्त्रता विरोधी गतिविधि गर्ने प्रधानाध्यापक बुढाथोकीमाथि कानुनी कारबाही गर्न स्थानीय सरकार र मातहतको शिक्षा समितिको पनि ध्यानाकर्षण गराएको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य समेत रहेका पत्रकार मण्डलले सार्वजनिक खरिद ऐनविपरीत विद्यालयले दर्ता नभएको फर्मको टेन्डर स्वीकृत गरेको भन्दै समाचार प्रकाशन गरेका थिए । कचनकवल गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले पनि नियमविपरीत टेण्डर स्वीकृत गरिएको जनाएको छ ।
घटनाको विषयमा प्रेस संगठन नेपाल झापा जिल्ला कार्य समितिले समेत आपत्ति प्रकट गरेको छ । प्रेस संगठन झापाका संयोजक झुलन रेग्मी र सचिव उद्वव पुरीले विज्ञप्ति जारी गर्दै अदालती शैलीमा विद्यालयले पठाएको पत्र प्रधानाध्यापकको अज्ञानता र अहमता जनाएका छन् ।
पत्रकारकाे मानहानी गर्ने प्रधानाध्यापकमाथि अविलम्ब कानुनी कारबाही गर्न समेत प्रेस संगठनले माग गरेको हो । पत्रकार मण्डल प्रेस संगठन झापाका सह संयोजक हुन् ।