झापा– बिर्तामोड नगरपालिकाले साउन १२ र १३ गते ५५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई खोप लगाउने भएको छ । बिभिन्न छवटा खोप केन्द्रमार्फत कोरोना भाइरस विरुद्धको खोप लगाउने तयारी भएको नगरपालिकाले जनाएको हो ।
बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले आज सार्वजनिक सूचना जारी गर्दै नगर क्षेत्रभित्रका नागरिकलाई मात्र परिचय खुल्ने कागजातका आधारमा खोप लगाइने बताउनुभयो ।
नगरपालिकाले विभिन्न ६ वटा खोप केन्द्र निर्धारण गरेको छ । मोहनमाया मावि, महेन्द्ररत्न मावि, देवी मावि, सरस्वती मावि दुर्गा मावि र महेन्द्र ज्योति माविमा खोप केन्द्र राखिएको छ । तोकिएको खोप केन्द्रमा विहान १० देखि बेलुका ४ बजेसम्म खोप उपलब्ध हुने प्रमुख प्रशासकीय अधिकृत दाहालले जानकारी दिनुभयो ।
नगर क्षेत्रका प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक र खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिकका लागि पनि बिर्तामोड नगरपालिकाले खोपको प्रबन्ध गरिएको जनाएको छ । उनीहरुले साउन १४ र १५ गते खोप लगाउन पाउनेछन् ।
शिक्षक कर्मचारी तथा चालक सहचालकका लागि महेन्द्ररत्न माध्यमिक विद्यालय बिर्ता बजार र देवी माध्यमिक विद्यालय बिर्तामोडलाई खोप केन्द्र तोकिएको छ ।