केर्खा बजारबाट ८८ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ



बिर्तामोड (विवेचना)- एकपछि अर्को गर्दै दैनिक लागुऔषध प्रयोगकर्ता समाइ रहेकाे झापा प्रहरीले आज पनि दुई जना युवालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत केर्खा बजारबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाको मेचीनगर घर भएका सुवास मेचे र सुरज लामिछाने रहेका छन् । अटो रिक्सामा सवार उनीहरुलाई सुराकीका आधारमा ८८ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले इलाका प्रहरी कार्यालय दमक र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले उनीहरूलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ परेकाहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवही अघि बढाइने प्रहरीले जनाएको छ ।