बिर्तामोड–उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपदबाट हुन सक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न निर्देशन दिनु भएको छ । उद्धार, राहत र पुनर्स्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न पनि उहाँले निर्देशन दिनु भयो ।
गृह मन्त्रालयमा बसेको विपद् सम्बन्धी बैठकमा उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट सिर्जित जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारी गर्न निर्देशन दिनु भएको हो ।
उहाँले विपदका कारण जोखिममा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्न सरकारले सम्भव भएका सबै प्रयास गर्ने भन्दै प्रभावकारी र नतिजामुखी भएर काम गर्न पनि सम्बद्ध निकायहरुलाई निर्देशन दिनु भयो ।
पौडेलले राहत र उद्धारका लागि स्रोतको अभाव नहुने जानकारी दिँदै विपद्का घटना भएपछि के गर्ने भन्दा पनि पहिले नै कसरी घटनाहरुलाई न्यूनीकरण गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन आग्रह गर्नुभयो ।
गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानले कोषमा पाँच अर्ब भन्दा बढी रकम रहेकाले राहत र उद्धारमा स्रोतको कमी नहुने बताउनुभयो । उहाँले क्षति, उद्धार र राहतमा भएका कार्यहरु, अवरुद्ध सेवा सञ्चालन, प्रभावकारी नतिजाका लागि गर्नु पर्ने कार्यहरु लगायतलाई समावेश गरेर एकीकृत योजना ल्याउने बताउनुभयो ।
बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी पहिरो लगायतले पुर्याएको क्षति र नोक्सानीको एकिन विवरण र आर्थिक लागत निकाली पुनर्स्थापना र पुनर्निर्माणका कार्यहरु अघि बढाउने तयारी भएको बताउनुभयो ।