
झापा– नेकपा एमालेले स्थानीय तहको अधिवेशन असोज ९ गतेसम्म सम्पन्न गरिसक्ने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको स्थायी कमिटी बैठकले तत्काल तल्लो तहका अधिवेशनहरू प्रारम्भ गर्ने निर्णय गरेको हो ।
बैठकपछि एमाले महासचिव ईश्वर पोखरेलले असोज ९ गतेसम्म सबै पालिकास्तरको अधिवेशन सम्पन्न गरिसक्ने निर्णय भएको जानकारी दिनुभयो । निर्णयअनुसार असोजको पहिलो साता सबै वडाको अधिवेशन हुनेछ ।
पार्टीको महाधिवेशनलाई लक्षित गर्दै एमालेले तल्लो तहका अधिवेशनहरु सम्पन्न गर्न निर्देशन दिएको छ । बैठकले भदौ २७ र २८ गते पार्टीको विधान अधिवेशन आयोजना गर्ने निर्णय पनि गरेको छ ।
बैठकले राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा र संगठनात्मक प्रतिवेदनको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
विष्णु पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल गठन भएको छ भने रामबहादुर थापाको संयोजकत्वमा विधान व्यवस्थापन कार्यदल गठन गरिएको छ । आगामी साउन २४ गतेका लागि एमालेले केन्द्रीय समितिको बैठक बोलाएको छ ।