सभापति थापाको स्टाटसले काङ्ग्रेसमा खैलाबैला, थाहै नदिई सदस्य मनोनयन ?



बिर्तामोड– नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कसको इशाराबाट चलिरहेको छ भनेर प्रश्न गर्नु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कांग्रेसका जिल्ला सभापति थापाले आज साँझ यस्तो प्रश्न गर्नुभएको हो ।

प्रतिष्ठानले हरेक दिन झापाबाट सदस्य मनोनयन गरेको फेसबुकबाट जानकारी हुने गरेकोप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सभापति थापाले पार्टी अफिसमा कुर्सी र ठाउँ पुर्याउन नसकिने अवस्थाको बताउनुभयो । सभापति थापाले फेसबुकमा लेख्नु भएको छ, यति सदस्य मनोनयन भइसके, पार्टी अफिसमा ठाउँ पनि कुर्सी पनि पुर्याउन नसकिने भइयाे ।’

सभापति थापाले कुर्सीमा नहट्ने गरी सदस्य मनोनयन गर्ने विधान छ कि ? भनेर पनि प्रश्न गर्नु भएको छ । नेपाली कांग्रेसको आसन्न राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा दैनिकजसो सदस्य मनोनयन भइरहेका छन् ।

पार्टीको जिल्ला नेतृत्वलाई थाहा नदिई प्रतिष्ठानमा दैनिकजसो भइरहेका मनोनयनप्रति सभापति थापाले कडा आपत्ति प्रकट गर्नुभएको छ ।