बिर्तामोड नगरपालिकाद्वारा विपन्न दलित परिवारलाई बंगुरका पाठा वितरण



बिर्तामोड– दलित समुदायका विपन्न नागरिकलाई बिर्तामोड नगरपालिकाले बंगुरका पाठा वितरण गरेको छ । सोमवार वडा नम्वर–९ का ४० विपन्न परिवारलाई पाठा वितरण गरिएको नगरपालिकाले जनाएको हो ।

दलित जागरण अभियान केन्द्र बिर्तामोडले आयोजना गरेको कार्यक्रमका बीच नगरप्रमुख ध्रुवकुमार शिवाकोटी र वडाध्यक्ष पवित्रा पाठकले पाठा वितरण गर्नु भएको हो । वडाको दुई लाख ५० हजार सहयोगमा बंगुरपालन कार्यक्रम अन्तर्गत दलित परिवारलाई पाठा वितरण गरिएको वडाध्यक्ष पाठकले बताउनु भयो ।

नगरप्रमुख शिवाकोटीले वंगुर पालनबाट राम्रो लाभ लिन सकिने भन्दै पालन पोषणमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले वंगुरपालन कार्यक्रमलाई थप प्रभावकारी बनाउन वितरण गरिएका वंगुरहरुको इन्स्युरेन्स र बीउको लागि भाले बंगुर खरिद गरिदिने पनि बताउनु भयो ।

दलित जागरण अभियान केन्द्रका अध्यक्ष छविलाल विश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच बंगुर पालनको अनुगमनको लागि खेम नेपालीको संयोजकत्वमा समिति समेत गठन गरेको छ । बिर्तामोड नगरपालिकाले विपन्न दलित परिवारलाई वार्षिक २२० वटा भन्दाबढी बंगुरका पाठा वितरण गर्दै आएको छ ।