
झापा– साताअघिदेखि वेपत्ता झापा बिर्तामोडका दुई दिदीबहिनीको भारतबाट उद्धार गरिएको छ । बस्नेत थरका दिदीबहिनी साउन ४ गतेदेखि वेपत्ता थिए । परिवारले छोरीहरु हराएको भन्दै खवर गरेपछि प्रहरीले खोजतलास सुरु गरेको थियो । भारतको मोतिहारी जिल्लाबाट उनीहरुको उद्धार भएको हो ।
उद्धार गरिएकामध्ये दिदी २१ वर्ष र बहिनी १५ वर्षकी छन् । उनीहरुलाई रोजगारीको प्रलोभनमा पारेर भारत लगिएको खुलेको झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले बताए । बिर्तामोडकी लक्ष्मी दास र सुनसरीकी खुस्वु भनिने महिलाले उनीहरुलाई फकाएर भारत लगेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र माइती नेपाल बीरगञ्जको सहयोगमा उनीहरुको उद्धार सम्भव भएको हो ।
उद्धार गरिएका दिदीबहिनीलाई परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ । उनीहरुलाई भारत लैजान मुख्य भूमिका खेलेका लक्ष्मी र खुस्वुलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई अनुसन्धान र कार्वाहीका लागि बिर्तामोड ल्याइने प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।