
विर्तामोड (विवेचना)- साहित्यकार तेजराज खतिवडाकाे ७८ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा आज दिउँसो १:३० बजे विराटनगरमा उनको निधन भएको हो ।
झापाको धुलाबारी घर भएका खतिवडाको विराटनगरस्थित विराट नर्सिङ होममा एकसातादेखि उपचार भइरहेको थियो । श्वास प्रश्वास, फोक्सो र ढाडको समस्या भएपछि साहित्यकार खतिवडा अस्प्ताल भर्ना भएका थिए । श्वास प्रश्वासमा समस्या भएपछि मंगलवार साँझ उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।
२००१ साल वैशाख १ गते तत्कालीन शान्तिनगर–४ इरौँटारमा जन्मिएका खतिवडा नेपाली साहित्यमा तेराखका नामले प्रसिद्ध छन् । लामो समय शिक्षण पेशामा समेत रहेका खतिवडाले नेपाली साहित्यमा प्रगतिशील स्रष्टाको रुपमा आफूलाई स्थापित गरेका थिए ।
साहित्यकार तेजराज खतिवडाका एक दर्जन कृति प्रकाशित छन् । ‘सर्वजा’ तेराखको सबैभन्दा प्रख्यात उपन्यास हो । मय विधाको प्रस्तावना लेख्ने मध्येका एक हुन साहित्यकार खतिवडा । साहित्यकार खतिवडाका प्रिया (खण्डकाव्य), प्रिय शान्तिनगर (खण्डकाव्य), अलपत्रेका फुलहरु (कविता सङ्ग्रह) प्रकाशित छन् । सिमीको बोट र मेको प्रेम गरी दुई वटा कथा सङ्ग्रह पनि उनले निकालेका थिए ।
ढाडेका नाकमा घिउ, म आगो र पानीहरु भन्ने निवन्ध सङ्ग्रह पनि प्रकाशित थियो । नाटक लेखनमा पनि उत्तिकै सक्रिय रहेका खतिवडाले ‘अझै यहाँ उस्तै छ’ र टेस्टट्यूब बेबी नामको नाटक पनि लेखेका थिए । रातको १२ बजे उनको उपन्यास हो ।
वाङमयमा पनि खतिवडाको कलम चलेको थियो । महिलाहरुमा झापालीको सन्देश बाङमय खतिवडाले लेखेका हुन् । महानन्द दर्पण (भाषाशास्त्री महानन्दको परिचय) पनि उनले लेखेका छन् ।
साहित्यकार तेराखको भोलि बिहान धुलाबारीस्थित रामघाटमा दाहसंस्कार गरिने छोरा लेखनाथ खतिवडाले जानकारी दिए ।
साहित्यकार खतिवडाको निधनप्रति धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले गहिरो दुख व्यक्त गरेका छन् । ए जना कर्मठ साहित्यिक व्यक्तित्वको निधनले नेपाली साहित्य क्षेत्रमा अपुरणीय क्षति पुगेको छ । झापामा प्रगतिशील साहित्यको गोडमेल गर्ने एक जना व्यक्तित्वलाई गुमाएको साहित्यकार पुन्यप्रसाद खरेलले बताए ।
फेसबुकमा उनले लेखेका छन्, ‘आज अपरान्ह साढे एक बजेतिर बित्नुभएको सुनेर स्तब्ध एवम् मर्माहत भएँ । लामो समयको सहयात्राहरु मनमा कुँडुलो परिरहेका छन् । प्रयात तेराखमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल उहाँका लेखनाथजी लगायत छोराहरु, छोरीहरु, बुहारीहरु, नातिनातिनाहरु एवम् खतिवडा परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु ।