ढल्यो साहित्यको खम्बा : रहेनन् प्रसिद्ध साहित्यकार तेराख




विर्तामोड (विवेचना)- भाषा साहित्यका एकजना अनरवत स्रष्टा साहित्यकार तेजराज खतिवडाको ७८ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा बुधवार दिउँसो १ः३० बजे विराटनगरमा उनको निधन भएको हो । झापाको धुलाबारी घर भएका खतिवडाको विराटनगरस्थित विराट नर्सिङ होममा एकसातादेखि उपचार भइरहेको थियो ।

श्वास प्रश्वास, फोक्सो र ढाडको समस्या भएपछि साहित्यकार खतिवडा अस्पताल भर्ना भएका थिए । श्वास प्रश्वासमा समस्या भएपछि मंगलवार साँझ उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । २००१ साल वैशाख १ गते तत्कालीन शान्तिनगर–४ इरौँटारमा जन्मिएका खतिवडा नेपाली साहित्यमा तेराखका नामले प्रसिद्ध छन् ।

लामो समयदेखि साहित्य सिर्जनामा आफूलाई समर्पित गर्ने एकजना कर्तव्यनिष्ठ साधकका रुपमा खतिवडालाई चिनिन्छ । युवावयमा राजनीतिक सक्रियता देखाएका उनी पछिल्ला वर्षमा निरन्तर लेखन कार्यमा सक्रिय थिए ।

कुनै बेला बामपन्थी आन्दोलनमा उनको सक्रियता बेजोड थियो । झापाको दमकमा दुई वर्षअघि आयोजित साहित्यिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खुलेरै साहित्यकार खतिवडाको प्रशंसा गरेका थिए ।

लामो समय शिक्षण पेशामा बिताएका खतिवडाले नेपाली साहित्यमा प्रगतिशील स्रष्टाको रुपमा आफूलाई स्थापित गरेको साहित्यकार पुन्यप्रसाद खरेल बताउँछन् । ‘झापामा प्रगतिशील साहित्यको गोडमेल गर्ने एकजना व्यक्तित्वलाई गुमाएका छौँ’, खरेलले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।

झापाका पुराना एमाले नेता बेदराज रेग्मी पनि खतिवडाको राजनीतिक योगदानलाई अविष्मरणीय ठान्छन् । उनले माले र माक्सवादी एकीकरण गर्ने बेलामा खतिवडा माक्सवादी झापा जिल्ला कमिटीको सचिव रहेको फेसबुकमा लेखेका छन् । रेग्मी अगाडि लेख्छन्, ‘विरामी भेटने इच्छा पुरा हुन सकेन । मन खिन्न भएको छ । आज सदाको लागि उहाँले महायात्रा प्रस्थान गर्नु भएछ । एक अग्रज कमरेड तेजराज खतिवडाप्रति भावपूर्ण श्रद्धाञ्जलि ।’

साहित्यकार खतिवडाका आधादर्जन कृति प्रकाशित छन् । ‘सर्वजा’ तेराखको सबैभन्दा प्रख्यात उपन्यास हो । मय विधाको प्रस्तावना लेख्ने मध्येका एक हुन् साहित्यकार खतिवडा । उनका प्रिया (खण्डकाव्य), प्रिय शान्तिनगर (खण्डकाव्य), अलपत्रेका फुलहरु (कविता संग्रह) प्रकाशित छन् । सिमीको बोट र मेको प्रेम गरी दुईवटा कथा संग्रह पनि उनले निकालेका थिए ।

ढाडेका नाकमा घिउ, म आगो र पानीहरु भन्ने निवन्ध संग्रह पनि प्रकाशित थियो । नाटक लेखनमा पनि उत्तिकै सक्रिय रहेका खतिवडाले ‘अझै यहाँ उस्तै छ’ र टेस्टट्यूब बेबी नामको नाटक पनि लेखेका थिए । रातको १२ बजे उनको उपन्यास हो । वाङमयमा पनि खतिवडाको कलम चलेको थियो ।

महिलाहरुमा झापालीको सन्देश बाङमय खतिवडाले लेखेका हुन् । महानन्द दर्पण (भाषाशास्त्री महानन्दको परिचय) पनि उनले लेखेका छन् । साहित्यकार तेराखको बिहीवार बिहान १० बजे धुलाबारीस्थित रामघाटमा दाहसंस्कार गरिने छोरा लेखनाथ खतिवडाले जानकारी दिए ।

साहित्यकार खतिवडाको निधनप्रति धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले गहिरो दुख व्यक्त गरेका छन् । एकजना कर्मठ साहित्यिक व्यक्तित्वको निधनले नेपाली साहित्य क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।