
बिर्तामोड– एकका लागि एक अभियानको अग्रसरतामा झापाको कन्काई नगरपालिकामा स्थापना भएको पीसीआर परीक्षण प्रयोगशालाले आइतबारसम्ममा २५ हजारभन्दा बढीको परीक्षण गरेको छ । समुदाय तहमा कोरोना भाइरसको संक्रमण तीव्र भइरहेका बेला जनस्तरबाट संगठित भएको अभियानले परीक्षण प्रयोगशाला स्थापना गरेको थियो ।
मेची प्रादेशिक अस्पतालको मातहतमा सञ्चालन भइरहेको प्रयोगशालाले आइतबार सम्ममा २५ हजारभन्दा बढीको परीक्षण गरेको एकका लागि एक अभियानका संयोजक एवम् परिकल्पनाकार महेन्द्रकुमार गिरीले बताउनुभयो । प्रयोगशाला स्थापना भएपछि कोरोना परीक्षण गर्न सर्वसाधारणलाई सहज भएको छ । प्रयोगशालाले न्यूनतम् शुल्क लिएर परीक्षण गर्दै आएको छ ।
कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता अक्सिजन अभाव भएपछि एकका लागि एक अभियानले जनस्तरबाट सहयोग जुटाएर झापामा पहिलो पटक अक्सिजन बैंकको स्थापना गरेको छ ।