
बिर्तामोड– पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएका बिर्तामोडका जेष्ठ नागरिकले दोस्रो डोज पनि लगाउन पाउने भएका छन् । बिर्तामोड नगरपालिकाले आज सूचना जारी गर्दै असार २३ र २४ गतेका लागि दोस्रो डोजको खोप लगाइने जनाएको हो ।
कोरोनाविरुद्ध पहिलो चरणमा खोप लगाएका ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकका लागि दोस्रो चरणको खोप लगाइने बिर्तामोड नगरपालिकाले जनाएको छ ।
यसअघि जेठ २६ र २७ गते नगरपालिकाले जेष्ठ नागरिकका लागि पहिलो डोजको भेरोसिल खोप लगाएको थियो ।
बिर्तामोडका विभिन्न तीनवटा खोप केन्द्रमार्फत दुई दिन खोपको दोस्रो डोज लगाइने प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताउनुभयो ।
‘पहिलो डोज लगाएकालाई मात्रै दोस्रो डोज लगाइन्छ’, प्रमुख प्रशासकीय अधिकृत दाहालले भन्नुभयो, ‘खोप लगाउन आउँदा यसअघि दिइएको कार्ड अनिवार्य छ ।’
एक नम्बर वडा कार्यालय बिर्तामोड र महेन्द्ररत्न मावि विर्ता बजारमा दुई दिन खोप लगाइने छ भने स्वास्थ्य चौकी गरामनीमा असार २३ गते मात्रै खोप सञ्चालन हुने जनाइएको छ ।