झापाका प्रतिष्ठित उद्योगी पर्शुराम अग्रवालको निधन



बिर्तामोड– कोरोना भाइरसको संक्रमणका कारण झापाका चर्चित उद्योगपति पर्शुराम अग्रवालको निधन भएको छ । भद्रपुर नगरपालिका-५ निवासी उद्योगपति अग्रवालको ६२ वर्षको उमेरमा बुधबार साँझ नौ बजे निधन भएको हो ।

भारतको सिलगुढीस्थित महाराजा नर्सिङ होममा उद्योगपति अग्रवालको उपचार भइरहेको थियो । स्वास्थ्यमा समस्या आएपछि उनले मेची प्रादेशिक अस्पताल भद्रपुरमा  पीसीआर परीक्षण गराएका थिए ।

जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी केही दिन होम आइसोलेसनमा बसेर असार ४ गते सिलिगुढीकाे महाराजा नर्सिङ होममा भर्ना भएका थिए । सामान्य अवस्थामा फर्किसकेका अग्रवालको बुधबार दिउँसो अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि  भेन्टिलेटरमा राखिएको थियो ।

विसं. २०१६ सालमा जन्मिएका अग्रवाल झापा उद्योग वाणिज्य सङ्घमा दुई कार्यकाल अध्यक्ष भएका थिए। मोहपाल धर्मशालामा समाजसेवा टस्ट, भद्रपुर मारवाडी सङ्घ, भद्रपुर गौशाला, विभिन्न मठमन्दिरमा बनाउन उनले ठूलो सहयोगसँगै भूमिका खेलेका थिए ।

झापामा अब भागको लगानीमा एक दर्जन बढी उद्योग ब्यवसाय छन् । मनसा सिमेन्ट उद्योग, मगमग चाउचाउ, ग्यालेक्सी इन्टरनेशनल स्कुल, गुट्खा उद्योग, घडी बिडी उद्योग, होटेल, सिनेमा हल लगायतमा उनको लगानी छ ।