इजरायल सरकारले एक हजार नेपाली कामदार लैजाने



झापा– इजरायल सरकारले एक हजारसम्म नेपाली कामदार लैजाने भएको छ । त्यहाँको दीर्घकालीन स्याहार सेवा केन्द्रमा काम गर्ने गरी इजरायलले नेपाली कामदार जान लागेको हो । वैदेशिक रोजगार विभागले सहयोगी कामदार पठाउने प्रक्रिया सुरु गरिसकेको छ ।

मन्त्रिपरिषद् बैठकले इजरायलमा नेपाली कामदार पठाउने सम्बन्धी निर्देशिका पारित गरेपछि विभागले आफ्नो प्रक्रिया सुरु गरेको हो । इजरायलस्थित नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरण भएपछि कामदार छनौटको प्रक्रिया अघि बढाइने विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले जानकारी दिनुभयो ।

विभागका अनुसार मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी तीन महिनाको तालिम गरेका व्यक्ति इजरायल सरकारको प्राथमिकतामा छन् । २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, १.५ मिटर अग्लो र ४५ किलो तौल भएको हुनुपर्ने मापदण्ड छ । विभागले आफूले तोकेको अनलाइनबाट आवेदन लिने महानिर्देशक दवाडीले बताउनुभयो ।

कमाई र कार्यस्थलका हिसाबले आकर्षक मानिएको इजरायलकाे रोजगारीमा जाने नेपाली कामदारले मासिक न्यूनतम एक लाख ८३ हजार रुपैयाँसम्म कमाउँछन् । राम्रो आम्दानी हुने भएकाले धेरैको रोजाइमा इजरायल पर्ने गरेको छ । तर सीमित सरकारी कोटाका कारण इजरायल जाने धेरैको सपना अधुरै देखिन्छ ।