
बिर्तामोड– राजनीतिक र सामाजिक क्रियाशीलतामा अब्बल एउटा प्रतिभालाई बिर्तामोडले सदाका लागि गुमाएको छ । यहाँका अधिकांश सामाजिक गतिविधिमा नेतृत्वदायी भूमिकामा रहेका ज्ञानुराम प्रसाईलाई बिर्तामोडले गुमाएको हो ।
५४ वर्षीय प्रसाईको शुक्रवार मेची राजमार्ग अन्तरगत झापाको चारआली–चन्द्रगढी सडकमा भएको कार दुर्घटनामा मृत्यु भएको थियो ।
नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष प्रसाई आफैँले चलाएको बा १६च ८१८२ नम्बरको कार अनियन्त्रित भई देवकोटाको सालिकको पर्खालमा ठोक्किएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका प्रसाईँलाई तत्काल उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उनको अस्पताल पुर्याए लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रसाईको आज साँझ कनकाइ माइमा दाहसंस्कार गरिएको छ । कोरोना भाइरसको संक्रमणलाई पर्वाह नगरी हजारौँ मलामीजनले प्रिय नेता तथा समाजका अगुवा प्रसाईलाई अश्रुधारासहित विदाई गरेका छन् । उनको निधनले बिर्तामोड शोकमा डुवेको छ ।
आफन्त र साथीभाईले समाजको एउटा आदर्श प्रतिभालाई गुमाउनु परेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । प्रसाईँ देवी माविका अध्यक्ष, बिर्तामोड नगर शिक्षा समिति सदस्य, मनमोहन अस्पतालका कोषाध्यक्ष थिए । प्रसाईको अग्रसरतामा बिर्तामोडमा ‘झापा नाटक घर’ निर्माण भइरहेको थियो ।
प्रसाईँकी श्रीमती पवित्रा महतरा प्रसाईँ बिर्तामोड नगरपालिका उपप्रमुख हुन् । प्रसाईका एक छोरा प्रवेश र एक छोरी प्रज्ञा रहेका छन् ।
स्व. गंगामाया र प्रेम प्रसाईँका माइला छोरा हुन् ज्ञानुराम । उनका जेठा दाजु पुष्प प्रसाईँ अर्जुनधारा–९का वडाध्यक्ष हुन् भने भाइ टीकाराम प्रसाई सामाजिक क्षेत्रमा क्रियाशील छन् ।
प्रसाईको निधनप्रति विवेचना भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै परिवार जनामा गहिरो समवेदना प्रकट गर्दछ ।