झापामा कोरोना संक्रमण डरलाग्दो, एकैदिन ३१२ जना संक्रमित



बिर्तामोड– झापामा कोरोना भाइरसको संक्रमण घट्ने छाँटकाँट अझै देखिएको छैन । समुदाय तहमा संक्रमण दर तीव्ररुपमा फैलिरहेकाले संक्रमितको संख्या थपिँदै गएको छ । जिल्ला स्वास्थ कार्यालय झापाका अनुसार आजमात्र ३१२ जना संक्रमित थपिएका छन् ।

संक्रमण प्रतिको बढ्दो वेवास्ताले समुदाय तहमा घरैपिच्छे संक्रमित भेटिन थालेका हुन् । स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो पार्ने बित्तिकै झापामा संक्रमण दर उकालो लागेको छ । झापाका प्रमुख व्यापारिक सहर कोरोना संक्रमण उच्च जोखिममा छन् । बिर्तामोड सबैभन्दा धेरै जोखिममा छ । आजमात्रै बिर्तामोडमा ५६ जनामा संकमण पुष्टि भएको छ ।

बढ्दो भिडभाड र आवतजावतले संक्रमण दर बढेको सरोकारवालाले बताउँदै आएका छन् । स्वास्थ्य मापदण्ड पालनामा भइरहेको हेलचेक्र्याईँका कारण पनि संक्रमण बढेको उनीहरूको ठहर छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारी पनि संक्रमणको सिकार भइरहेका छन् ।

कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि झापाका स्थानीय तहले आफ्नो अनुकुलताका आधारमा नगर र  गाउँपालिका धमाधम सिल गर्न थालेका छन् । बजार क्षेत्रमा बढेको भीड नियन्त्रणको उपाय स्वरुप सिल गर्न थालिएको हो ।