झापामा कोरोना भयावह : एकैदिन सात जनाको मृत्यु



बिर्तामोड– कोरोना भाइरसको संक्रमणका कारण हिजो एकैदिन झापामा सात जनाको मृत्यु भएको छ । समुदाय तहमा संक्रमण फैलिने क्रम जारी रहेकाले मानवीय क्षतिका घटना बढ्दै गएका हुन् ।

स्वास्थ्य कार्यालय झापाले हिजो साँझ संक्रमितको तथ्यांक सार्वजनिक गर्दै तीन महिला र चार पुरुष गरी सात जनाको मृत्यु भएको जनाएको हो ।हिजो मात्रै झापामा १४८ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमण घट्दै गएको अनुमानका आधारमा निषेधाज्ञा खुकुलो भएपनि संक्रमण र मृत्युदर अझै नघटेको हो । स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाईका अनुसार कोरोना संक्रमण सुरुभएयता झापामा ३८३ जनाले ज्यान गुमाएका छन् ।

संक्रमण बढ्दै जाँदा बिर्तामोडमा हिजो ३१ जना संक्रमित थपिएका छन् । यसअघि अस्ति बिर्तामोडमा ६० जनामा संक्रमण पुष्टि भएको थियो । बजार क्षेत्रमा दैनिक भइरहेको भीड र नाराजुलुसले कोरोना अझै फैलिनसक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

बिर्तामोडमा सोमवार एकजना युवती मृत भेटिएपछि ठूलो संख्यामा मानिसको जमघट भएको थियो । साँझ युवा संघका कार्यकर्ताले सर्वोच्चको फैसलाविरुद्ध प्रदर्शन गरेका थिए । संक्रमणको वेवास्ता गर्दै भइरहेको जमघटले जोखिम थप बढ्ने चिकित्सकहरु बताउँछन् ।