
झापा– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डाक्टर र नर्सले बुधबारदेखि सेवा बहिस्कार गर्ने घोषणा गरेका छन् । समस्या समाधानका लागि सरकारलाई ७२ घण्टे अल्टिमेटम दिँदै उनीहरुले सेवा बहिष्कार गर्ने घोषणा गरेका हुन् ।
प्रतिष्ठान सुधारका लागि विभिन्न १२ बुँदे माग राखेर डाक्टर, विद्यार्थी, नर्स र कर्मचारीहरूको संयुक्त संघर्ष समितिले ४७ दिनदेखि आन्दोलन गर्दै आइरहेको छ । लामो समयसम्म माग पूरा नभएका कारण बाध्य भएर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुपरेको समितिले जनाएको हो ।
कालोपट्टी बाँधेर काममा सहभागी भएका डाक्टर तथा नर्सले प्रतिष्ठानको शैक्षिक डीन अफिसमा समेत तालाबन्दी गरेका छन् । अल्टिमेटम सकिँदासम्म माग पूरा नभए इमरजेन्सी र काेविड लगायतका सेवा समेत बहिस्कार गर्न बाध्य हुने उनीहरूको चेतावनी छ ।