चोरिएको छिन्नमस्ताको मुकुटसहित युवक पक्राउ



राजविराज :  नेपालकै प्रसिद्ध शक्तिपिठमध्येको छिन्नमस्ता भगवतीको चोरी भएको चाँदीको मुकुट (मस्तक)सहित सोमबार एक युवक पक्राउ परेका छन्। चोरी भएको ७ सय ५० ग्रामको चाँदीको मुकुट, सुनको टिका र नथियासहित सप्तरीको विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

पिठाधिश महन्थ ठाकुरका अनुसार आइतबार राति करिब ७ बजे सरसफाइका लागि मन्दिरका पुजारीहरू पोखरीमा पानी लिन गएको बेला मुकुट चोरी भएको थियो। चोरी गरेर मुकुट घर लगेका मण्डलले बिहान आफैंले भगवतीको मुकुट ल्याएको र गाउँमा मन्दिर स्थापना गर्ने भन्दै गाउँमा हल्ला गर्दै हिंडेपछि प्रहरीलाई खबर गरिएको स्थानीय जयप्रकाश यादवले बताए।

चाँदीको मुकुट, सुनको टिका र नथिया बरामद गरी मण्डललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको एसपी राजेन्द्रप्रसाद धमलाले बताए। एसपी धमलाका अनुसार चोरीको मुकुटसहित पक्राउ परेका मण्डलको मानसिक स्वास्थ्य ठिक नरहेको जस्तो व्यवहार गरिरहेका छन्।