
हल्दीबारी- झापाको हल्दीवारी गाउँपालिकामा नमुना बाल संसद्को अभ्यास शुरु भएको छ । हल्दीबारी गाउँपालिकाको सहयोगमा टाइम्स मिडिया नेटवर्कले नमुना बाल संसद् अभ्यास आयोजना गरेको हो ।
बालबालिकालाई संसदीय अभ्यासको बारेमा जानकारी तथा प्रशिक्षित गर्न कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक प्रदीप परियारले बताए । उनका अनुसार संसदीय अभ्यासमा बालबालिकाको सहभागिता गराउन नमुना बाल संसद् आयोजना गरिएको हो ।
मंगलवारबाट शुरु भएको बाल संसद् अभ्यास बिहीवार समापन हुनेछ । बालबालिकाको क्षमता तथा नेतृत्व विकास, सूचनाको हक, बालअधिकार र संसदीय अभ्यासबारे सहजीकरण गरिनेछ । गाउँपालिकाभित्रका ३० जना विद्यार्थी सहभागी कार्यक्रममा पहिलो दिन क्षमता एवम् नेतृत्व विकास सम्बन्धी सहजीकरण गरिएको छ ।
युवा अभियन्ता दीपक दासले क्षमता विकास विषयक सहजीकरण गरेका छन् । सूचना अभियान्ता राजु श्रेष्ठ, युवा परिषद्का सदस्य सरोज ढकाल, कार्यक्रम संयोजक परियारले सहजीकरण गर्ने कार्यक्रम छ । अभ्यासपछि बालबालिकाले अन्तिम दिन नमुना बाल संसद्को अभ्यास प्रस्तुत गर्नेछन् ।