
बिर्तामोड (विवेचना)– झापाको मेचीनगर–१४ दुहागढीमा एक हजार जना अट्ने क्षमताको होल्डिङ सेन्टर निर्माण हुने भएको छ । कोरोना संक्रमणका बीच भारतीय क्षेत्रबाट प्रवेश गर्ने नेपालीलाई लक्षित गरेर दुहागढीको हडिया खोला नजिक होल्डिङ सेन्टर बनाउने निर्णय भएको हो ।
कोरोना संकट व्यवस्थापन समितिको बुधवारको बैठकले चार विघा क्षेत्रफलमा होल्डिङ सेन्टर बनाउने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनुभयो । होल्डिङ सेन्टर बनाउने जिम्मा नेपाली सेनालाई दिइएको छ । अत्यन्तै व्यवस्थित होल्डिङ सेन्टरका लागि २२ करोड रुपैयाँ खर्च हुने जनाइएको छ ।
यसअघि मेचीनगर–७ स्थित नयाँ बसपार्क क्षेत्रमा जग्गा उपलब्ध गराउने निर्णय भएको थियो । बसपार्कको जग्गा अपुग हुने देखिएकोले अर्को स्थानको खोजी गरिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनु भयो ।