
काँकडभिट्टा– वडाध्यक्ष कृष्णराज सिग्देलमाथि कुटपिट भएक विषयलाई लिएर एमाले संसदीय दलले मेचीनगर नगरपालिकाको जारी नगरसभा बहिष्कार गरेको छ । जनप्रतिनिधिमाथि आक्रमण भएको विषयमा ध्यानाकर्षण गराउँदा समेत नगरपालिकाले ठोस धारणा सार्वजनिक नगरेपछि नगरसभा वहिष्कार भएको हो ।
एमाले संसदीय दलको तर्फबाट मेचीनगर-११ का वडाध्यक्ष सन्तोष मेचे, मेचीनगर-१४ का अध्यक्ष शंकर पोखरेल, कार्यपालिका सदस्य निरु परियार लगायतले कुटपिट भएको विषय उठाएका थिए । संसदीय दलले उठाएका विषयमाथि छलफल हुन नसकेपछि नगरसभा बहिष्कार भएको हो ।
चारआलीका १२ वटा घर डुबानमा परेको विषयमा विवाद हुँदा स्थानीय अर्जुन थेबेले वडाध्यक्षमाथि आक्रमण गरेको एमालेको दाबी छ । तर थेबेले भने उल्टै वडाध्यक्षले आफूमाथि टाउकोमा एउटा प्रहार गरेको जनाउँदै आएका छन् । दुबै पक्षको आरोप प्रत्यारोपका बीच घटनाले राजनीतिक मोड लिने देखिएको छ ।
वडाध्यक्ष सिग्देलको पक्षमा नेकपा एमाले दृढतापूर्वक उभिएको छ भने आरोपित थेबेको पक्षमा नेपाली कांग्रेस उभिएको छ ।