
गंगा बराल
भद्रपुर– चैतमा हात्तीको आक्रमणबाट ज्यान गुमाएकी भद्रपुर–२ की सीतादेवी दाहालको परिवारलाई विर्तामोडस्थित सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाले राहत रकम प्रदान गरेको छ । सहाराले सीताका आमा तिलरुपालाई राहत रकम उपलब्ध गराएको हो । घर परिसरमा आयोजित संक्षिप्त कार्यक्रमका बीच भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले ८ लाख ६८ हजार रुपैयाँको चेक तिलरुपालाई हस्तान्तरण गरेका छन् ।
भद्रपुर–२ गौरीशंकरस्थित पूर्णिमा सहारा महिला समूहकी सदस्य स्व. सीतादेवीले संस्थाबाट लिएको ऋणमा त्यति नै रकम थपेर सहाराले रकम हस्तान्तरण गरेको हो । ज्ञाने चोक सेवा केन्द्रका कर्मचारी मुकुन्द उप्रेतीले संस्थाको नियमानुसार आमा तिलरुपालाई उक्त रकम बराबरको चेक प्रदान गरिएको जानकारी दिए । सहाराले भद्रपुरको लगनशील सहारा महिला समूह नं. ६९ की सदस्य भगवती थापा आलेका श्रीमान् विमलसिंह आले मगरको निधन भएकोले भगवतीले लिएको दुई लाख रुपैयाँ ऋण मिनाहा गरिदिएको छ ।
भद्रपुर–४ मा रहेको लक्ष्मीनगर सहारा महिला समूह नं. १०८ की सदस्य सीतादेवी दाहालका श्रीमान् कमलबहादुर बस्नेतको पनि निधन भएकोले सीतादेवीले लिएको १ लाख रुपैयाँ पनि मिनाहा गरिदिएको उप्रेतीले बताए । नगरप्रमुख श्रेष्ठले सहारा नेपाल साकोस् वित्तीय कारोबार गर्ने मात्र नभई ग्रामीण भेगका विपन्न परिवारको सहारा पनि बन्दै गएको भन्दै सहाराको समाजोपयोगी सेवा कार्यको प्रशंसा गरे ।
राहत रकम हस्तान्तण कार्यक्रममा भद्रपुर–२ का कार्यवाहक अध्यक्ष सीताराम अधिकारी, सहारा साकोसका सेवा केन्द्र प्रमुख सुदीप खड्का, अनुगमन अधिकृत गोमा वस्नेतलगायतको उपस्थिति थियो ।