
झापा–समुदाय तहमा कोरोना भाइरसको संक्रमण तीव्र भएपछि रक्षात्मक अवस्थामा पुगेका झापाका स्थानीय तह जिल्लालाई पूर्ण रुपले सिल गर्न सहमत भएका छन् । बढ्दो संक्रमण रोक्न लक डाउनमा जानुको विकल्प नभएको निष्कर्ष निकाल्दै उनीहरुले एक साताका लागि जिल्ला सिल गर्ने विषयमा सहमति जनाएका हुन् ।
संक्रमणबिरुद्ध लड्न साझा धारणा बनाउन आज बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिको बैठकले साउन १६ गतेदेखि जिल्लामा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।
‘जिल्लालाई सिल गर्ने कि नगर्ने भन्ने विषयमा जनप्रतिनिधिबाट धेरै कुरा आए’, बैठकपछि प्रजिअ तिम्सिनाले भने, ‘अन्तत कोरोनाविरुद्ध लड्न झापालाई एक सातासम्म सिल गर्ने सहमति भयो ।’ संक्रमणको फैलावट र जोखिम आँकलन गरेर झापाका स्थानीय तहले आफूखुसी गाउँ तथा नगरपालिका सिल गर्दै आएका थिए ।
परीक्षणको ५० प्रतिशत हाराहारीमा संक्रमित थपिन थालेपछि प्रारम्भमा बुद्धशान्ति गाउँपालिकाले एक साताअघि आफनो क्षेत्र सिल गरेको थियो । बुद्धशान्तिको निर्णयलाई पछ्याउँदै बिहीबारसम्म झापाका दशवटा नगर तथा गाउँपालिकाले आफ्नो क्षेत्र सिल गर्न भ्याइसकेका छन् ।
बाँकी पाँचवटा स्थानीय तह पनि आफ्नो गाउँ तथा नगर क्षेत्र सिल गर्ने तयारीमा जुटेपछि जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिले सरोकारवालाको बैठक राखेर एकरुपता ल्याउने प्रयास गरेको हो । ‘सङ्क्रमणको अवस्थालाई हेरेर निर्णय गर्ने गरी तत्काललाई एक सातासम्म सिल गर्ने निर्णय भएको छ’, हल्दीवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले भने ।
सङ्क्रमणप्रतिको बढ्दो नागरिक बेवास्ता र स्थानीय तहको कमजोर नियन्त्रण कार्यशैलीले समुदायमा कोरोना सङ्क्रमण दर अचाक्ली बढेको छ । स्वास्थ्य मापदण्ड पालनामा भइरहेको नागरिक कमजोरीले पनि सङ्क्रमण दर बढाउन सहयोग पुगेको सरोकारवाला बताउँछन् । जिल्ला स्वास्थ्य कार्यालय झापाको पछिल्लो १५ दिनको तथ्याङ्कले पनि झापामा कोरोना सङ्क्रमितको संख्या उकालो लागिरहेको देखाउँछ ।
असार ३१ गते झापामा ७२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । उक्त दिन सात जनाले ज्यान गुमाएका थिए । साउन १३ गते ३३४ जनामा संक्रमण पुष्टि भयो भने पाँच जनाले ज्यान गुमाए । ‘१५ दिनको यो अवधिमा ज्यान गुमाउनेको संख्या धेरै छ’, स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाई भन्छन्, ‘समुदाय तहमा सङ्क्रमण भयावह रुपमा फैलिँदा मानवीय क्षतिका घटना पनि बढेका छन् ।’
झापामा पछिल्लो १५ दिनमा ३२ सय भन्दाबढी कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये ५५ जनाको मृत्यु भएको कोरोना फोकल पर्सन चौलागाईले जानकारी दिए । कोरोना सङ्क्रमण सुरु भएयता झापामा साउन १३ सम्ममा ४३७ जनाको ज्यान गइसकेको छ । पहिलो लहरमा भन्दा दोस्रो लहरमा ज्यान गुमाउनेको संख्या अत्याधिक छ ।