
बिर्तामोड-काेराेना संकट व्यवस्थापन समितिले झापामा निषेधाज्ञाको समय थप एक साताका लागि बढाएको छ। आज बसेको समितिको बैठकले असार २१ गते सम्मका लागि निषेधाज्ञाको समयावधि थप गरेको हो ।
सार्वजनिक सवारी सञ्चालनमा लगाइएको रोकलाई यथावत् राख्दै समितिले निजी सवारी साधनमा भने जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर जोरबिजोर प्रणालीका आधारमा निजी सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाइएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताउनुभयो ।
सरकारले तोकेको स्वास्थ्य मापदण्डका आधारमा बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म पसल खोल्न पाइने निर्णय समितिले गरेको छ । यसअघि निर्धारण गरिएको समय हेरफेर गर्दै स्थानीय प्रशासनले पसल खोल्ने समय अवधि बढाएको छ ।
सिनेमाहल, पार्टी प्यालेस स्वीमिङ पुल, मनोरञ्जनस्थल, पार्क सैलुन, ब्युटी पार्लर, जिमखाना, पुस्तकालय, संग्रहालय भने बन्द रहने छन् । सातौंपटक निषेधाज्ञाको समय थप्दै समितिले भीडभाड हुने क्षेत्र माथिको प्रतिबन्ध कायमै राखेको हो ।
प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले झापामा कोरोना संक्रमण दर घटेपनि जोखिम कायमै रहेकाले निषेधाज्ञाकाे अवधि थप गरिएको जानकारी दिनुभयो । आइतबार साँझसम्मकाे तथ्याङ्कअनुसार झापामा १३ हजार ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये ११ हजार ६ सय ७२ जना डिस्चार्ज भइसकेका छन् । संक्रमितमध्ये १५६४ जना सक्रिय संक्रमित आइसाेलेसनमा छन् । कोरोना संक्रमण सुरु भएयता झापामा आइतबार साँझसम्म ३४४ जनाको ज्यान गएको छ ।