खाद्यान्न आयातको तथ्याङ्कले सरकारलाई गिज्यायो, आयात प्रतिस्थापन असफल




बिर्तामोड (विवेचना)– खाद्यान्न आयातको पछिल्लो ११ महिनाको तथ्याङ्कले सरकारलाई गिज्याएको छ । आन्तरिक उत्पादन बढाउँदै आयात घटाउने सरकारी रणनीति कमजोर भएको खाद्य आयातको तथ्याङ्कले देखाएको हो ।

विकास र समृद्धिको चर्काे नारा अघि सारेको सरकार उत्पादन बढाउने काममा असफल देखिएको छ । सरकारी प्रयास प्रभावकारी नहुँदा कृषिप्रधान मुलुक भनिएको नेपालले ११ महिनामा झण्डै ७५ अर्ब रुपैयाँको खाद्यान्न आयात गरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ११ महिनामा ७४ अर्ब ६७ करोड ५१ लाख १० हजार रुपैयाँ बराबरको खाद्यान्न आयात भएको हो । आयातित खाद्यान्नमा चामल, मकै र कोदो मुख्य छन् ।

११ महिनामा साढे २८ अर्ब रुपैयाँ भन्दा धेरैको चामल आयात भएको छ । यस वर्षको चामल आयात अघिल्लो वर्षको तुलनामा ७ अर्ब ४० करोडले बढी हो ।

११ महिनाको यो अवधिमा १४ अर्ब ४८ करोड ३० लाख ५९ हजार रुपैयाँको मकै आयात भएको छ । अर्जेन्टिना, ब्राजिल, कोलोम्बिया, भारत र नाइजेरियाबाट मकै आयात भएको हो ।