बिर्तामोडको व्यवसायिक नेतृत्व लक डाउनको विपक्षमा



बिर्तामोड– कोरोना भाइरसको बढ्दो फैलावट रोक्न झापाका स्थानीय तहले लक डाउनलाई प्राथमिकता दिइरहेका बेला बिर्तामोडको व्यवसायिक नेतृत्व भने त्यसको विपक्षमा उभिएको छ । पालिकास्तरीय लक डाउनकाे हाेडबाजी चलिरहेका बेला विर्तामोडको व्यवसायिक नेतृत्वले आफ्नो प्रष्ट धारणा सार्वजनिक गरेको हो ।

बिर्तामोड उद्योग वाणिज्य सङ्घका महासचिव अर्जुन मैनालीले कोरोनाको संक्रमणबाट बच्ने विकल्प लक डाउन मात्रै नभएको बताउनुभयो । निजीक्षेत्रसँग सधैं कर असुल्ने बाँकी मतलब नगर्ने प्रवृत्तिले हैरान भइसकेको भन्दै महासचिव मैनालीले बन्दको विकल्प खोजिनुपर्ने बताउनुभयो ।

बिर्तामोडमा लकडाउन गर्ने वा नगर्ने भन्ने बारेमा आज बिर्तामोड नगरपालिकाले आज सरोकारवालासँग छलफल गर्दैछ । छलफलको पूर्वसन्ध्यामा विर्तामोडको व्यवसायिक क्षेत्रका अगुवाले बन्दको विकल्प खोज्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल अलैंची व्यवसायी महासङ्घका महासचिव सुवास भट्टराई खोप बिनाको लक डाउन स्वीकार्य नहुने बताउनुहुन्छ । जबर्जस्ती गरिए लक डाउन अवज्ञा गरिने महासचिव भट्टराईले चेतावनी दिनुभएको छ ।

सञ्चार क्षेत्रका अगुवा झापाका अग्रज पत्रकार इन्द्रजित  मुखिया भने संक्रमणबाट जोगिनका लागि १५ दिन कडाइपूर्वक लक डाउन गर्नुपर्ने आवश्यकता औंल्याउनु हुन्छ । ‘बरु १५ दिन पूरै लक डाउन गराैँ । याे काेराेना न तपाईको न मेराे, न अरु कसैकाे’, नेपाल टेलिभिजनका झापा संवाददाता समेत रहनुभएका मुखियाले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्नुभएको छ ।