झापा– बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाका एकजना कर्मचारीले कोरोना भाइरस विरुद्धको खोप लुकाएको विषयमा स्थानीय प्रशासनले छानबिन समिति गठन गरेको छ । जिल्ला कोभिड खोप व्यवस्थापन समितिको शनिवार बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा छानविन समिति गठन गरेको हो ।
बिर्तामोड नगरपालिकाका कोरोना फोकल पर्सन ओेमबहादुर खँड्का स्थानीय एउटा होटलमा कोरोनाको दुई सय डोज खोप लुकाउँदै गर्दा शुक्रबार समातिएका थिए । नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले लुकाइएको खोपसहित खड्कालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएपछि घटनाको विषयमा छानविन हुनुपर्ने माग उठेको थियो ।
घटनाको छानविनका लागि पाँच सदस्यीय समिति गठन गरी सातदिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । ‘सत्यतथ्य के हो छानविनले देखाउँछ’, प्रमुख जिल्ला अधिकारी तिम्सिनाले भने, ‘खोपमा बदमासी गरेको भेटिए कोही पनि उम्किन पाउँदैन ।’
छानविन समितिमा जिल्ला समन्वय अधिकारी लालबहादुर श्रेष्ठ, झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापा, सशस्त्र प्रहरीका डीएसपी प्रेम प्रसाईं, र अनुसन्धान अधिकृत किरण भट्टराई सदस्य छन् । बैठकले आरोपित खड्कालाई छानबिन नसकिएसम्म खोप सम्बन्धी कुनै पनि गतिविधिमा संलग्न नगराउन बिर्तामोड नगरपालिकालाई निर्देशन पनि दिएको छ ।
खोप अभियानलाई पारदर्शी र प्रभावकारी बनाउन हालसम्मको खोप विवरण सार्वजनिक गर्न स्वास्थ्य कार्यालयलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए । ‘खोपका विषयमा जनताले प्रश्न गर्ने ठाउँ राख्नु हुँदैन’, उनले भने, ‘पारदर्शी प्रक्रिया अवलम्वन गर्न निर्देशन दिइसकेको छु ।’
खँड्काले भने जिल्ला स्वास्थ्य कार्यालयले पठाएको खोप आफूले होटलमा रिसिभ गरेको तर नलुकाएको जिकिर गर्दै आएका छन् । खोप केन्द्रमा प्रचण्ड गर्मीका बीच लाइनमा बसेका सर्वसाधारणले खोप नपाएर नारावाजी गरिरहेका बेला खड्काले खोप लुकाएको सार्वजनिक भएपछि चौतर्फी विरोध भइरहेको छ ।
घटनाको विषयलाई लिएर नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी आन्दोलित भएका छन् । आन्दोलनको पहिलो चरणअन्तर्गत उनीहरुले शनिबार बिर्तामोड नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । खोप लुकाउने कार्यमा संलग्न खँड्कामाथि कारबाही नभएसम्म तालाबन्दी नखोल्ने नेपाल विद्यार्थी संघका जिल्ला सचिव पोषराज कटुवालले बताए ।