आलोपालो प्रणालीमा झापा प्रशासनको सेवा



बिर्तामोड-जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउने अत्यावश्यक सेवा आलोपालोमा उपलब्ध हुने भएको छ । कोरोना भाइरसको संक्रमण नघटेकाले प्रशासन कार्यालयले सेवा प्रवाहमा आलोपालो प्रणाली निरन्तरता दिएको हो ।

स्थानीय तहका सेवाग्राहीले सातामा एक दिन सेवा पाउने व्यवस्था मिलाइएको छ । मंगलबार भद्रपुर नगरपालिका र हल्दिबारी गाउँपालिकाका सेवाग्राहीले सेवा प्राप्त गर्नेछन् । बुधबार कनकाई नगरपालिका र झापा गाउँपालिकाका सेवाग्राहीका लागि पालाे छुट्याइएको छ ।

बिहीबार मेचीनगर र शुक्रबार बिर्तामोड नगरपालिकाका सेवाग्राहीले प्रशासन कार्यालयमार्फत आफ्नो काम गर्न पाउनेछन् । आइतबार अर्जुनधारा नगरपालिका र बाह्रदशी गाउँपालिकाका सेवाग्राहीका लागि समय छुट्याइएको छ ।

सोमबार भने बुद्धशान्ति गाउँपालिका र कचनकवल गाउँपालिकाका सेवाग्राहीले प्रशासकीय सेवा प्राप्त गर्नेछन् । अति जरुरी सेवाहरु स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालय झापाद्वारा आज जारी सूचनामा जनाइएको छ ।