भद्रपुरका बाल शिक्षक र कर्मचारीको आन्दोलन फिर्ता




भद्रपुर (विवेचना)- भद्रपुर नगर क्षेत्रका बालशिक्षक र कर्मचारीले आन्दोलन फिर्ता लिएका छन् । केन्द्र सरकारको निर्णय कार्यान्यन गर्न अस्वीकार गरेको भन्दै उनीहरु चार दिनदेखि आन्दोलनमा थिए ।

बुधवार भएको वार्तामा सरकारले तोकेको न्यूनतम् पारिश्रमिक १५ हजार दिन नगरपालिका तयार भएपछि आन्दोलन फिर्ता भएको हो ।

न्यूनतम् पारिश्रमिक १५ हजार कायम गर्ने केन्द्र सरकारको घोषणा अनुरुप भद्रपुर नगरपालिकाले बजेट विनियोजन नगरेपछि शिक्षक कर्मचारीको आन्दोलन सुरु भएको थियो ।

सरकारले बाल शिक्षक र कर्मचारीको अहिलेको पारिश्रमिक बढाएर मासिक ८ हजार र सम्बन्धित स्थानीय तहले ७ हजार थपेर न्यूनतम १५ हजार कायम गर्ने घोषणा बजेटमार्फत गरेको थियो ।

नगरपालिकाले केन्द्र सरकारको घोषणा अनुरुप तलव बढाउने सहमति गरेपछि आन्दोलन स्थगित भएको बालशिक्षक सञ्जाल भद्रपुरकी अध्यक्ष तारा मैनालीले बताइन् ।

‘नगर प्रमुख जीवनकुमार श्रेष्ठले सरकारले तोकेको न्यूनतम् पारिश्रमिक १५ हजार दिने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता भएको छ’, उनले भनिन् ।

भद्रपुर नगरभित्र ५७ जना बाल शिक्षक, मावि तथा आधारभूत तहका ३२ जना र प्राविस्तरका १५ जना कर्मचारी कार्यरत छन् ।