ओलीलाई ५१ हजार राशिको ‘अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार’



बिर्तामोड (विवेचना)– झापाको अर्जुनधारा नगरपालिकाले साहित्यकार सरोज ओलीलाई ‘अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । नगरपालिकाको भाषा कला साहित्य तथा संस्कृति प्रवर्द्धन समितिले साहित्यकार ओलीलाई पहिलोपटक उक्त पुरस्कार प्रदान गर्न लागेको हो ।

आधाशताब्दी लामो समय निरन्तर साहित्य सेवामा जीवन अर्पण गर्नु भएका ओलीलाई ५१ हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको समितिकी संयोजक शुशिला सुवेदीले जानकारी दिनुभयो । नगदसँगै नगरपालिकाले साहिल्यकार ओलीलाई दोसल्ला ओढाएर ताम्रपत्र पनि प्रदान गर्ने जनाइएको छ ।

साहित्य विकासका क्षेत्रमा अर्जुनधारा नगरपालिकाको विशेष योगदान जाओस् भन्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कारको थालनी हुन लागेको हो । असार २५ गते अर्जुनधारास्थित सामुदायिक भवनमा कार्यक्रमको आयोजना गरी उक्त पुरस्कार प्रदान गर्ने तयारी भएको नगरपालिकाले जनाएको छ ।