बिर्तामोड– बैंकिङ कसुर मुद्दाका एकजना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ताप्लेजुङको याङवरक गाउँपालिका घर भई बिर्तामोड-५मा बस्दै आएका ३६ वर्षीय नरेन्द्र तिम्सिनालाई प्रहरीले पक्राउ गरेको हो ।
गत चैत ३० गते उच्च अदालत विराटनगरको इलाम इजलासले तिम्सिनालाई बैङ्किङ कसुर मुद्दामा दोषी ठहर गर्दै १५ दिन कैद सजाय, ३४ लाख रुपैयाँ जरिवाना र पिडित राहत कोषमा एक लाख ३६ हजार रुपैयाँ दाखिला गर्नुपर्ने फैसला सुनाएको थियो ।
फरार रहँदै आएका तिम्सिनालाई जिल्ला प्रहरी कार्यालय झापा र फैसला कार्यान्वयनको टोलीले ताप्लेजुङबाट पक्राउ गरी झापा ल्याएको हो । आज अदालतमा उपस्थित गराएर कैद सजाय भुक्तानका लागि उनलाई कारागार चलान गरिएको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।