
बिर्तामोड– अन्तर्राष्ट्रिय सामाजिक संस्था कारितास नेपालले मेची प्रादेशिक अस्पताललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
कोरोना संक्रमितको उपचारमा सहयोग पुग्ने गरी कारितासले ११ लाख रुपैयाँभन्दा बढीको अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
कारितासका तर्फबाट दमक शाखा कार्यालय प्रमुख देवेन्द्र पोखरेले अस्पताल विकास समितिका अध्यक्ष साेमनाथ पाेर्तेल र मेडिकल सुपरिटेण्डेण्ट डाक्टर टङ्क बाराकाेटीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।
कारितास जर्मनको आर्थिक सहयोगमा ती सामग्री जुटाइएको हो । कारितासले आरामदायी फोल्डिङ बेड २० थान, त्यसका लागि आवश्यक ओछ्याउने–ओड्ने, आइसोलेशन तथा आकस्मिक कोभिड उपचार केन्द्रहरुका लागि आवश्यक टेन्ट १० थान दिएको छ ।
स्वास्थ्य सामग्रीमा पीपीई सेट ५० थान, एन ९५ मास्क २५०० थान, स्वचालित सेनिटाइजर डिस्पेन्सर मेसिन ३ थान, अक्सिमिटर २० थान, नेबुलाइजर मेसिन १२ थान, ५ लिटरको स्यानिटाइजर जार १० थान छन् ।
५०० मिलिलिटरको स्यानिटाइजर १२५ थान, पीसीआर किट १९२ थान, भीटीएमकिट ७५ थान सक्सन मेसिन एक थान, एक्स्ट्राक्सन मेसिन किट ५० थान र सर्जिकल पञ्जा १७५० थान प्रदान गरिएको पोखरेलले बताउनु भयो ।
कारितास नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत मेची अस्पतालनजिक क्षयरोग निवारण संस्थाको परिसरमा अस्पतालसँगको सहकार्यमा कोभिड १९ हेल्पडेस्क पनि सञ्चालन गरिरहेको छ ।