झापा– प्रादेशिक सञ्चार प्रतिष्ठानले कोरोना संक्रमित पत्रकारलाई उपचार सहयोग रकम प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा शनिवार बिर्तामोडमा भएको कार्यक्रममा रकम प्रदान गरिएको हो ।
महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का कार्यकारी निर्देशक यज्ञ शर्माले पत्रकार पर्वत पोर्तेललाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
प्रतिष्ठानले पत्रकारलाई लेखनवृत्तिदेखि कोरोनाबाट प्रभावित सञ्चार संस्थाहरुलाई सहयोग गर्ने योजना बनाएको निर्देशक शर्माले जानकारी दिनु भयो । कार्यक्रममा प्रतिष्ठानका सदस्य गोपाल काफ्ले, आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृतहरु उपेन्द्र श्रेष्ठ, कोमल दहालको लगायतको सहभागिता थियो ।
प्रतिष्ठानले कोरोनबाट निधन भएका पाँचथरका पत्रकार एकराज भण्डारीकी श्रीमती शर्मिला दहाललाई ५० हजार रुपैयाँ र कोरोना संक्रमित भई अस्पतालमा उपचार गराएका इलामका पत्रकार बुद्धवीर राईलाई २५ हजार रुपैयाको चेक सम्बन्धित जिल्लामा पुगेर हस्तान्तरण गरेको छ ।
प्रतिष्ठानले कोरोनाबाट ज्यान गुमाउने पत्रकारको परिवारलाई ५० हजार र सात दिनभन्दा बढी अस्पतालमा अक्सिजनसहित उपचार गराएका पत्रकारलाई २५ हजार रुपैयाँको दरले सहयोग गर्ने निर्णय गरेको थियो ।