बिर्तामोड– बिर्तामोड नगरपालिकाले नगर क्षेत्रको सुरक्षा अवस्था कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । श्रृंखलाबद्धरुपमा अपराधका घटना हुन थालेपछि नगर क्षेत्रको सुरक्षालाई लिएर नगरपालिकाले चासो गरेको हो ।
नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले आज विज्ञप्ति निकालेर नगर क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी र भरपर्दो बनाउन माग गरेका छन् । यसअघि भएका हत्याका घटनाका दोषी समेत पक्राउ नपरेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।
तीन महिनाअघि बिर्तामोडका होटल व्यवसायी तिलक निरौलासहित दुई जनाको हत्या भएको थियो । उक्त घटनाको पनि सत्यतथ्य बाहिर नआएको नगर प्रमुख सिवाकोटीले बताए । नगर प्रमुख सिवाकोटीले हिजो मृत अवस्थामा भेटिएकी सृजना वस्नेतको मृत्युको सत्यतथ्य पत्ता लगाइ सार्वजनिक गर्न पनि माग गरेका छन् ।