झापाका तीनसय पेट्रोलियम कामदारलाई कोरोनाको खोप



बिर्तामोड– जिल्ला कोभिड खोप व्यवस्थापन समितिले झापाका पेट्रोल पम्पमा कार्यरत कामदारलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन निर्देशन दिएको छ । शनिवार दिउँसो बसेको समितिको बैठकले जिल्ला स्वास्थ्य कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।

पेट्रोल पम्पमा कार्यरत कामदारले पटक–पटक खोप माग्दै आएका थिए । बैठकले तीन सय जना कामदारलाई नेपाल आयल निगमको चारआली डिपोमा जोनसोन खोप उपलब्ध गराउन निर्देशन दिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनु भयो ।

जोनसोन अमेरिकी सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप हो । यो खोप एक डोज लगाए पुग्छ । चीन र भारतले उपलब्ध गराएका खोप भने दुई डोज लगाउनु पर्ने अवस्था छ ।